चितवन खबर पोष्ट

शिक्षकलाई सम्मानित र विद्यार्थीलाई पुरस्कृत गर्दै सकियो जनकल्याण मा.वि.को ३६औं बार्षिकोत्सव

माडीको कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले शिक्षकलाई सम्मानित, विद्यार्थीलाई पुरस्कृत र अभिभावकलाई प्रशंसित गर्दै भव्यतापूर्वक ३६औं बार्षिकोत्सव मनाएको छ ।

आइतबार विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले उत्साहपूर्वक वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक प्रस्तुति, विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए भने खेलकुद तथा शैक्षिक नतिजामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा वर्ष शिक्षक (२०८१) का रूपमा दीपनाथ आचार्य, अतिरिक्त क्रियाकलाप संयोजक दिनेशमणी शर्मा, विद्यालयमा अतिरिक्त जिम्मेवारी बहन गर्ने सम्झना शर्मा र टिका कुमारी खत्री सम्मानित हुनुभयो । यस्तै कक्षा १२ को नतिजामा शतप्रतिशत उत्तीर्ण गराउन सफल शिक्षक सुवास बुढा (नेपाली) तथा नारायण महतो (सामाजिक तथा जीवनोपयोगी शिक्षा) लाई पनि सम्मान गरिएको थियो ।

त्यसैगरी विद्यालयको सरसफाइमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक इन्द्रप्रसाद पौडेल, सबैभन्दा कम (दुई दिन मात्र) बिदा लिने शिक्षक मणिराम परियार, एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउन नेतृत्वदायी भूमिका खेलेका प्रधानाध्यापक रामबहादुर जि.सी. तथा समयपालनमा विशिष्ट योगदान पुर्‍याउने शिक्षक टंकनाथ पोख्रेललाई सम्मान गरिएको थियो ।

अभिभावकतर्फ असल आमाका रूपमा सीता खड्का र उत्कृष्ट महिला विद्यालय व्यवस्थापन समिति सदस्यका रूपमा बेलीमाया खड्कालाई सम्मान गरिएको छ । साथै अतिरिक्त क्रियाकलापमार्फत विद्यालयको पहिचान बढाउन सफल छात्रा प्रमिशा पौडेल र विद्यालयमा निरन्तर खटिने विद्यालय सहयोगी खिमबहादुर (राजु) खत्रीलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा आमा धनेश्वरी रानाभाटको स्मृतिमा ५० हजार ५१ रुपैयाँको नयाँ अक्षयकोष स्थापना गर्ने थमनबहादुर रानाभाट तथा ५५ हजार रुपैयाँ राशिको पुनबहादुर–शिलाकुमारी श्रेष्ठ स्मृति अक्षयकोष स्थापना गर्ने मायादेवी श्रेष्ठलाई प्रशंसा गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामकुमार बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशसभा सदस्य ठाकुरप्रसाद ढकाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य ढकालले जनप्रतिनिधिका हैसियतले माडीका विद्यालयलाई आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया