१३ पाैष, माडी । शिक्षकहरूमा पेशागत लगनशीलता र समर्पण अभिवृद्धि गर्ने उद्देश्यले माडी नगरपालिका–कल्याणपुरस्थित जनकल्याण माध्यमिक विद्यालयले नगद पुरस्कार राशीसहित ‘वर्ष शिक्षक पुरस्कार’ प्रदान गर्ने प्रचलन विकास गरेको छ ।
विद्यालयले हरेक वर्ष आयोजना हुने वार्षिकोत्सव समारोहका अवसरमा वर्ष शिक्षक पुरस्कार सार्वजनिक गर्ने र अघिल्लो वर्षका वर्ष शिक्षक पुरस्कार प्राप्त शिक्षकको बाहुलीबाट चालू वर्षको पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने व्यवस्था लागू गर्दै आएको छ ।

यसै व्यवस्थाअनुसार चालू वर्ष २०८१ को वर्ष शिक्षक पुरस्कार विद्यालयका नेपाली भाषा तथा साहित्य विषयका शिक्षक तथा चितवनको इच्छाकामना गाउँपालिका निवासी दीपनाथ आचार्यलाई प्रदान गरिएको छ ।

यसअघि २०८० सालको वर्ष शिक्षक पुरस्कार शिक्षक अमृत गायकले प्राप्त गर्नुभएको थियो । त्यसैगरी २०७८ सालमा सुवास बुढा, २०७७ सालमा दीपेन्द्रराज पौडेल तथा २०७६ सालमा मोतिलाल अधिकारी वर्ष शिक्षक पुरस्कारबाट सम्मानित हुनुभएको थियो ।

