माडी (स्थानीय) खबर पोष्ट

छात्रवृत्तिमा नाम निकालेका विद्यार्थी र शिक्षकलाई सम्मान गर्दै माडी मा.वि.को ५४औँ वार्षिकोत्सव सम्पन्न

१३ पाैष, माडी । माडीको बसन्तपुर बजारस्थित माडी माध्यमिक विद्यालयले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थी तथा उत्कृष्ट शैक्षिक नतिजा ल्याएका शिक्षकलाई सम्मान गर्दै ५४औँ वार्षिकोत्सव उल्लासपूर्वक मनाएको छ ।

विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरी एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल प्रतिक सुवेदी र विपिन पोख्रेल तथा नर्सिङ अध्ययनमा पूर्ण छात्रवृत्तिमा नाम निकालेकी दीक्षा पौडेललाई वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो ।

यसैगरी कक्षा १२ विज्ञानतर्फ प्रथम हुने अभिषेक पोख्रेल र कक्षा ५ को नगरस्तरीय परीक्षामा माडी नगर प्रथम हुन सफल रिहान महतो तथा पूजा माझीलाई पनि समारोहका अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रममा कक्षा १२ विज्ञान विषयमा शतप्रतिशत नतिजा हासिल गराउन सफल शिक्षक सुरेशराज पनेरु, कृष्ण महतो र बोधनाथ लामिछाने, विज्ञान विषय संयोजक यज्ञप्रसाद पौडेल तथा प्रधानाध्यापक भूपेन्द्र पौडेललाई समेत सम्मान गरिएको थियो ।

त्यस्तै प्राथमिक तह (कक्षा ५) को नगरस्तरीय परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल देवकुमारी कार्की (नेपाली विषय), आधारभूत तह कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल गंगा दुबे (नेपाली विषय) तथा कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा हासिल गराउन सफल माधव सुवेदी (नेपाली विषय) लाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माडी नगरप्रमुख ताराकुमारी काजी महतो प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख महतोले माडी माध्यमिक विद्यालयले पछिल्ला वर्षहरूमा उल्लेखनीय शैक्षिक सुधार गरेको भन्दै प्रशंसा गर्नुका साथै आवश्यक सहयोग निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबिच, वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा विद्यार्थीहरूले नेवारी परिकार योमरी र खुवा लगायतका विभिन्न परिकार तयार गरी प्रदर्शन तथा बिक्री गरेका छन् । विद्यालयमा पशु विज्ञान र होटल म्यानेजमेन्ट विषय अध्ययनरत विद्यार्थीहरूले वार्षिकोत्सवका अवसरमा योमरी, खुवा तथा अन्य परिकारहरू तयार गरी प्रदर्शनी तथा बिक्री गरेका हुन् । कार्यक्रममा सहभागी अभिभावक र अतिथिहरूले विद्यार्थीहरूसँग परिकारको तयारी विधि र महत्वबारे जानकारी लिँदै उत्साहपूर्वक खरिद गरेका थिए ।

यसैगरी विद्यालयको उच्च माध्यमिक तहमा विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीहरूले विज्ञानसम्बन्धी विभिन्न नमुना तथा प्रयोगात्मक सामग्री तयार गरी प्रदर्शनी गरेका थिए । उनीहरूले अवलोकनकर्ताहरूलाई ती नमुनाबारे व्यावहारिक जानकारी समेत प्रदान गरेका थिए । वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले गरेको यस्ता सिर्जनात्मक, प्रयोगात्मक तथा आयआर्जनमूलक गतिविधिहरूको सबैले प्रशंसा गरेका छन् ।

तपाईको प्रतिक्रिया