नेपाली कम्युनिस्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण

१४ पाैष, माडी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकीकरण भएको छ। नेकपाको केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सम्पन्न वार्तापछि १० बुँदे सहमतिसहित दुवै पार्टी एकीकृत भएका हुन्।

विज्ञापन १

एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘तारा’ रहने सहमति भएको छ। सहमतिपत्रमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हस्ताक्षर गरेका छन्।

विज्ञापन २

नागरिक उन्मुक्ति पार्टी थरुहट क्षेत्रमा मुख्य प्रभाव रहेको राजनीतिक दल हो। स्थानीय तह निर्वाचन २०७९ मा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तहमा विजय हासिल गर्दै यो दल कैलाली जिल्लाको सबैभन्दा ठूलो दल बनेको थियो। नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा ४ सांसद रहेका थिए भने सुदूरपश्चिम प्रदेश सभामा २ जना सदस्य रहेका छन्।

यता, रञ्जिता श्रेष्ठका श्रीमान् रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी भने अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीसँग गठबन्धन गर्दै एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएको छ। तीनवटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिकतर्फको बन्द सूची बुझाउने सहमति गरेका छन्।

तपाईको प्रतिक्रिया