१४ पाैष, माडी । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापति तथा पार्टीको दोस्रो वरीयताका नेता बन्ने भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने र बहालवाला संघीय मन्त्री तथा नेपाल विध्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकसमेत रहेका घिसिङबीच उपसभापति पदमा सहमति भएको हो। साथै, समानुपातिकतर्फ १६ प्रतिशतभन्दा बढी हिस्सा, अर्थात् १८ जना सांसद घिसिङको टिमबाट समावेश गर्ने सहमति भएको घिसिङको सचिवालय स्रोतले जनाएको छ।


यसअघि रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच रवि पार्टी सभापति रहने र बालेन प्रधानमन्त्रीका उम्मेदवार हुने सहमति भइसकेको थियो। उक्त सहमतिप्रति घिसिङ असन्तुष्ट देखिएपछि उनीसँग पटक–पटक छलफल गरिएको थियो। सोमबार काठमाडौंमा जेन–जी नेता सुदन गुरुङको पहलमा भएको पुनः छलफलपछि अन्ततः तीन पक्षबीच सहमति जुटेको हो।


