१६ पाैष, माडी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष तथा ‘चितवन क्षेत्र नं. ३ बाट राप्रपाका प्रस्तावित उम्मेदवार’ विक्रम पाण्डेले प्रमुख ठूला दलहरू चुनावी एकतामा लागे पनि राप्रपा एक्लै चुनावमा जाने दाबी गर्नुभएको छ ।
राप्रपा र राप्रपा नेपालको एकता समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै पाण्डेले सो दाबी गर्नुभएको हो । ‘ठूला पार्टी कार्यगत एकता गरेर चुनावमा जान लागेका छन्, तर हामी महाभारतको युद्धमा पाँच पाण्डवले ठूलो फौजसँग लडेर जित हासिल गरेको जस्तै एक्लै चुनावमा जानुपर्छ,’ पाण्डेको भनाई थियो, ‘राजावादी र राष्ट्रवादी शक्तिलाई यो पार्टीमा ल्याउन हामी लाग्नुपर्छ ।’

राप्रपा र राप्रपा नेपाल लामो समय एउटै नदीका दुई भंगालो जस्तै छुट्टाछुट्टै बगेको तर अब एकै ठाउँमा मिसिएको टिप्पणी गर्दै पाण्डेले पार्टीले अझ व्यापक राष्ट्रवादी शक्तिहरू समेट्नुपर्ने समेत औंल्याउनुयो ।

यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीले चितवन क्षेत्र नं. ३ बाट विक्रम पाण्डेको नाम एकल उम्मेदवारका रूपमा पुनः सिफारिस गरेको थियो । पछिल्लो ३ दशक (वि.सं. २०५६ सालदेखि) निरन्तर चितवन ३ बाटै चुनाब लड्दै आउनुभएका उहाँले २ पटक जित हासिल गर्नुभएको छ ।

