चितवन खबर पोष्ट

चितवन क्षेत्र नं. ३ मा एमालेबाट भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलिया एकल सिफारिस

२३ पाैष, माडी । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ मा नेकपा (एमाले) ले भरतपुर महानगर कमिटीका अध्यक्ष शंकर थपलियालाई एकल र सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको छ।

क्षेत्रीय समन्वय कमिटीको बुधबार सम्पन्न बैठकले पटिहानी निवासी नेता थपलियालाई सर्वसम्मत रूपमा अघि सार्दै प्रतिनिधिसभा सदस्यका लागि आधिकारिक नाम जिल्ला कमिटीमा पठाइएको जनाएको हो।

यसअघि सार्वजनिक सिफारिस सूचीमा पूर्व सांसद पार्वती (दिलकुमारी) रावल, सुदीप रेग्मी, विजय विक, डोलनाथ अधिकारी (राम) र दिव्य शर्मासहित ६ जना आकांक्षीको नाम समावेश थियो।

तर पछिल्लो छलफलपछि थपलियाको नाम एकल रूपमा अघि बढाउन पार्टी तहमा सहमति बनेको क्षेत्रीय कमिटीका पदाधिकारीहरूले बताएका छन्। पार्टी स्रोतका अनुसार जिल्ला कमिटीले अब सिफारिसलाई प्रदेश कमिटी हुँदै केन्द्रमा पठाउने प्रक्रिया अघि बढाउनेछ।

चितवन क्षेत्र नं. ३ मा नेपाली कम्युनिष्ट पार्टीबाट भरतपुर महानगरपालिकाका नगरप्रमुख रेनु दाहाल र राप्रपाबाट पूर्व सांसद बिक्रम पाण्डेको नाम समेत एकल सिफारिस भएको छ । रास्वपा लगायत अन्य दलहरू पनि उम्मेदवार चयनको आन्तरिक तयारीमा रहेका छन् ।

तपाईको प्रतिक्रिया