चितवन खबर पोष्ट

सरसफाइ र खाद्य गुणस्तरमा ध्यान दिन खाद्य प्रविधि कार्यालय भरतपुरका प्रमुख पौडेलको आग्रह

२४ पाैष, माडी । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरका प्रमुख प्रमोद चन्द्र पौडेलले माडीका व्यवसायीहरुलाई सरसफाइ र खाद्य गुणस्तरमा ध्यान दिन विशेष आग्रह गर्नुभएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भरतपुरको आयोजना एवं माडी नगरपालिकाको सहकार्यमा बुधबार माडी नगरपालिकाको सभाहलमा सञ्चालित खाद्य स्वच्छता अभिवृद्धि सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अभिमुखिकरण गर्दै पौडेलले सो आग्रह गर्नुभएको हो ।

सडक तथा बजार क्षेत्रमा बिक्रीका लागि राखिने खाद्य पदार्थको स्वच्छता अभिवृद्धिका लागि आयोजित सो कार्यक्रममा उहाँले धेरै दीर्घरोगहरु खानपिनका कारण नै लाग्ने गरेको उल्लेख गर्दै खानाको सरसफाई राख्नुपर्ने, स्वच्छ पानी र खाद्यवस्तु मात्रै प्रयोग गर्नुपर्ने, खाना राम्ररी पकाउनुपर्ने, पकाएको र नपकाएको खानेकुरालाई छुट्टाछुट्टै राख्नुपर्ने र खानालाई सुरक्षित तापक्रममा राखी सुरक्षित गर्नुपर्ने बताउनुभयो ।

माडी नगरप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सञ्चालित सो कार्यक्रममा स्थानीय व्यवसायी, उद्योगी, कृषक र अन्य सरोकारवालाहरु सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया