चितवन खबर पोष्ट

‘रामको जन्मभूमि तात्कालीन समयमा लोली भनिने क्षेत्रमा’: एमाले अध्यक्ष ओली (भिडियो सहित)

२४ पाैष, माडी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि हालको वीरगञ्जबाट पश्चिमपट्टी ‘तात्कालीन समयमा लोली’ भनिने माडी ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्‍याउनुभएको छ।

बुधबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले त्यसबेला ‘माडी’, ‘ठोेरी’ वा ‘बीरगञ्ज’ जस्ता शव्दको प्रचलन नरहेको र ‘लोरी’ वा ‘लोली’ भन्ने गरिएको उल्लेख गर्दै यसै क्षेत्रमा रामको जन्म भएको जिकिर गर्नुभएको हो ।

‘शास्त्रले भन्छ, राम जन्मिएको ठाउँ वीरगञ्जभन्दा पश्चिमपट्टी ठोरीतिर हो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले कसैले माडी भन्छन्, तर त्यसबेला माडी नै थिएन, बीरगञ्ज भन्ने पनि थिएन, लोली नै थियो।’

पाँचौं शताब्दीमा (करीव १५०० बर्ष पहिले) चिनियाँ यात्री फाहियानको यात्रा विवरण उद्धृत गर्दै उहाँले ‘फाहियानले सन् ४३५ मा लेखेको यात्रा वृत्तान्तमा दक्षिण एसियाको भ्रमण गर्दा रामग्राम र राम जन्मभूमिको वर्णन गरेको’ उल्लेख गर्नुभयो ।

‘पाँचौं शताब्दीमा फाहियानले नेपाल, भारत लगायतका देश घुमेर फर्केपछि लेखेको किताबमा रामग्राम र राम जन्मभूमिको वर्णन छ,’ ओलीले भने, ‘चिनियाँ जिब्रोले ठोरी भन्न नसकेर ‘लोरी’ वा ‘लोली’ भनेको पाइन्छ। त्यही लोली (हालको माडी ठोरी) नै मुख्य ठाउँ थियो।’

अध्यक्ष ओलीले आफूले कुनै देशको विरोध वा समर्थनमा नभई शास्त्रहरूको अध्ययनबाट प्राप्त ऐतिहासिक तथ्यका आधारमा यो कुरा बोलेको बताउनुभयो।

‘मैले राजनीति गरेको होइन, आफैंले शास्त्रहरूको अध्ययन गर्दा प्राप्त गरेको ऐतिहासिक तथ्य राखेको हुँ,’ उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया