चितवन खबर पोष्ट

‘माडीको विकास र सुरक्षालाई प्राथमिकता दिनेछु’: कांग्रेस उम्मेदवार टेकप्रसाद गुरुङ (भिडियो सहित)

१३ माघ, माडी । प्रतिनिधिसभाका लागि चितवन निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले माडी क्षेत्रको विकास र जंगली जनावरबाट सुरक्षालाई प्राथमिकता दिने बताउनुभएको छ ।

मंगलबार माडीको बसन्तपुरमा स्वदेश एफ.एम.संग जम्काभेट कार्यक्रममा बोल्दै चितवन काँग्रेसका पूर्व सभापति एवं तात्कालीन जिल्ला विकास समिति चितवनका पूर्व सभापति समेत रहनुभएका गुरुङले सो कुरा बताउनुभएको हो । आफू निर्वाचित भए पनि वा पराजित भए पनि त्यसलाई जनताको विजयका रूपमा लिने उहाँले बताउनुभयो ।

माडीलाई पहिले ‘प्राकृतिक जेल’को संज्ञा दिएको स्मरण गर्दै उक्त अवस्थाबाट मुक्त गराउन पहल गरेको उहाँले दाबी गर्नुभयो । सभापति हुँदा राप्ती र रिउ नदीमा पुल निर्माणको सुरुवात आफूले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अनुरोध गरेर बनाएको उनको भनाइ थियो ।

जङ्गली जनावरको आक्रमणबाट स्थानीय बासिन्दा प्रभावित भइरहेको उल्लेख गर्दै गुरुङले रिउ कोरिडोर निर्माणको आवश्यकता औंल्याउनुभयो । खोला नखोल्दा गिट्टी–बालुवा भरिएर उर्वर भूमि डुबानमा पर्ने समस्या देखिएको पनि उहाँको भनाइ थियो । अघिल्लो पटक आफ्‌नो कन्सेप्ट पूरा हुन नसकेको र अबको अवसरमा यसलाई पूरा गर्ने आफ्‌नो प्रतिबद्धता रहेको उहाँको भनाई थियो ।

गुरुङले कानुन निर्माणसँगै विकास निर्माणलाई पनि समान महत्व दिनुपर्ने बताउनुभएको छ । “कानुन पनि बनाउनुपर्छ, साथसाथै विकास पनि गर्नुपर्छ,” उहाँले बताउनुभयो, “स्थानीय ठाउँमा जनताको आवश्यकता अनुसार विकास निर्माण गर्नुपर्छ ।” सांसद निर्वाचित भएमा चितवन–३ र माडीलाई केन्द्रित गरेर कस्तो कानुन बनाउने भन्ने प्रश्नमा गुरुङले व्यक्तिगत रूपमा मात्रै कानुन बनाउन नसकिने स्पष्ट पार्नुभयो । कांग्रेसको सरकार बनेमा आफू सक्रिय रूपमा सुझाव दिने र कानुन निर्माण प्रक्रियामा सहभागी हुने उनको भनाइ छ ।

यसैबिच, नेपाली काँग्रेसले माडीको बसन्तपुरमा चुनाबी सम्पर्क कार्यालय स्थापना गरेको छ । पार्टीले माडी क्षेत्रमा चुनाबी गतिविधी, भेटघाट, घरदैलो र चुनाब परिचालन व्यवस्थित गर्न पुरानो बसन्तपुर बजारस्थित स्वदेश एफ.एम.संगैको घरमा चुनाबी सम्पर्क कार्यालय स्थापना गरेको हो ।

काँग्रेस चितवन क्षेत्र नं. ३ का उम्मेदवार समेत रहनुभएका टेकप्रसाद गुरुङले रिबन काटी कार्यालयको स्थापना गर्नुभयो । कार्यालय स्थापना भएलगत्तै उम्मेदवार गुरुङ सहित कांग्रेस माडी र चितवनका नेता कार्यकर्ताहरुले बसन्तपुर बजारमा घरदैलो अभियान सुरु गरेका थिए ।

तपाईको प्रतिक्रिया

ताजा समाचार