२६ फागुन, माडी । माडी नगरपालिकाले प्रशासनिक कामलाई क्रमशः डिजिटल प्रणालीमा लैजाने प्रयासस्वरूप सार्वजनिक सूचनामा क्यूआर (QR) कोड प्रयोग गर्न सुरु गरेको छ।
नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाले सेवा सम्बन्धी विवरण, समावेश भएका लाभग्राही तथा आवश्यक जानकारी क्यूआर कोडमार्फत उपलब्ध गराउने व्यवस्था गरेको हो । यस प्रणालीमार्फत सेवाग्राहीले क्यूआर कोड स्क्यान गरी आवश्यक जानकारी सहजै प्राप्त गर्न सक्नेछन्।
माडी नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममा डिजिटल सेवा प्रवाहमा जोड दिइने उल्लेख गरेको थियो । सोही अनुसार सार्वजनिक सेवा प्रवाहका सूचनाहरूबाट क्यूआर (QR) कोड प्रयोग सुरू गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले बताउनुभयो ।

माडी नगरपालिकाले क्रमशः पेपरलेस (Paperless) प्रशासन र डिजिटल सेवा विस्तार गर्ने प्रयास गरिरहेको नगरका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीले बताउनुभयो । डिजिटल प्रविधिको प्रयोग बढाउँदै सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य राखिएको उहाँले जनाउनुभएको हो ।



