२६ फागुन, माडी । भरतपुरस्थित पुरानो मेडिकल कलेज अस्पतालको न्युरो मेडिसिन वार्ड अगाडि, इमर्जेन्सी वार्डको बाहिर चिसो सिमेण्टीको भुईँमा खुट्टा खुम्च्याएर बसेका एक युवा धेरैको ध्यान तान्छन्। उनी हुन् माडी नगरपालिका–५ का २४ वर्षीय अमिर सापकोटा।
फागुन ११ गतेदेखि उनी यही अस्पतालमा आफ्नी गम्भीर बिरामी आमाको जीवनको खबर कुर्दै दिनरात बिताइरहेका छन्। उनकी आमा दुर्गा देवी सापकोटा न्युरो मेडिसिन वार्डमा गम्भीर अवस्थामै उपचाररत हुनुहुन्छ। आमाको स्वास्थ्य अवस्थाले चिन्तित अमिर एकछिन पनि अस्पताल छोड्न चाहँदैनन्।
तर अस्पतालको गल्ली र वार्ड बाहिर बितिरहेका उनका दिनहरू केवल चिन्ताले मात्रै भरिएका छैनन्, आर्थिक अभावको पीडाले पनि उत्तिकै थिचिएका छन्। आमाको उपचार खर्च दिनदिनै बढ्दै जाँदा अहिले सम्म करिब १०–१२ लाख रुपैयाँ खर्च भइसकेको बताइन्छ। तर परिवारको कमजोर आर्थिक अवस्थाले अब उपचार अगाडि बढाउन झन् कठिन बनाएको छ।

अस्पतालमै आमाको हेरचाह गर्दै बसेका अमिरसँग आफ्नै लागि खाना खाने पैसा समेत छैन। त्यसैले केही दिनदेखि उनी कहिले भोकै बस्न, कहिले चाउचाउ खाएर दिन काट्न बाध्य भएका छन्। चिसो सिमेण्टीको भुईँमा रात बिताउँदै, खाली पेट आमाको वार्डतर्फ टोलाउँदै बस्ने अमिरका आँखामा थकान र चिन्ता स्पष्ट देखिन्छ।
एकातिर आमाको जीवन बचाउने ठूलो आशा, अर्कोतिर पैसाको अभावको कठोर वास्तविकता-यी दुईबीच अमिर एक्लै संघर्ष गरिरहेका छन्। आमालाई बचाउने चाहना उनको आँखामा छ, तर हात भने खाली छन्। उपचार खर्च अझै बढ्न सक्ने भएकाले उनले अहिले सबै मानवताप्रेमी मनहरूसँग सहयोगको अपील गरिरहेका छन्।
यदि समाजका दाजुभाइ, दिदीबहिनी, समाजसेवी तथा सहयोगी मनहरूले सानो–सानो सहयोग गरे भने एउटा गरिब परिवारलाई ठूलो राहत मिल्न सक्छ। एउटा आमाको जीवन बचाउन र एउटा छोराको आशा जोगाउन, तपाईंको सानो सहयोग पनि अमूल्य हुन सक्छ।



