०२ बैशाख, माडी । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले ट्राफिक नियम उल्लङ्घनका क्रममा नियन्त्रणमा लिइएका सवारीचालक अनुमतिपत्रसहितका विभिन्न कागजपत्र १० दिनभित्र फिर्ता लैजान अनुरोध गरेको छ ।
कार्यालयका अनुसार ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ लागू भएसँगै हाल कार्यालयमा आठ हजार ९८२ वटा कागजपत्र थन्किएको अवस्थामा रहेका छन् । कार्यालयमा सवारीचालक अनुमतिपत्र, ब्लुबुक तथा मार्ग अनुमतिजस्ता सक्कली कागजात सुरक्षित राखिएको जनाइएको छ।
यस आर्थिक वर्षमा मात्र दुई हजार २४८ कागजपत्र नियन्त्रणमा लिइएको र तीमध्ये धेरै सवारीधनी लिन नआएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो । कार्यालयले तोकिएको १० दिनभित्र कागजपत्र फिर्ता नलिए सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ (५) बमोजिम एक महिनासम्म सवारी अनुमतिपत्र निलम्बन हुन सक्ने चेतावनी दिएको छ।




