०३ बैशाख, माडी । विवाहका लागि भारतीय बजारबाट खरिद गरी ल्याएको साडी र कपडा सशस्त्र प्रहरी बलको बगहीं (माडी) पोष्टले नियन्त्रणमा लिएसंगै माडीको एक परिवारले हैरानी व्यहोर्नु परेको गुनासो गरेको छ ।
विवाहमा पाहुनाहरुलाई वितरण गर्न भारतीय बजारबाट सार्वजनिक यातयातमार्फत माडी ल्याएको साडी र कपडाहरु सशस्त्र प्रहरीको बगहीँ पोष्टले नियन्त्रणमा लिएको थियो । हाल सीमा सुरक्षामा कडाइ गरिएको र सोही अनुरूप सो सामान नियन्त्रणमा लिएर भन्सार चलान गरेको सशस्त्र प्रहरी बलको भनाइ छ ।
विवाहका लागि ल्याएको भन्दै दिनैभर अनुरोध गर्दापनि सशस्त्र प्रहरीले नमानी सामान बीरगञ्ज पठाइदिएपछि बाध्य भएर बीरगञ्ज भन्सार पुगेर लिलाम प्रकृयाबाट ठूलै रकम भुक्तान गरी कपडा र साडीहरु घरमा ल्याउनुपरेको (पीडित) ठगुवा साह कानुको गुनासो छ ।

मुख्यतः सबैजसो मधेशी र केही थारु समुदायमा बिहेमा आउने महिला पाहुनाहरुलाई साडी र पुरुष पाहुनाहरुलाई कपडा दिने प्रचलन रहेको छ । विगतदेखि नै विवाहको सन्दर्भमा माडी र ठोरीबासीले विवाह प्रयोजनका लागि भारतीय बजारबाट केहि थान साडी र कपडा ल्याउने गरेकोमा पछिल्लो समय सशस्त्रले कडाई गरेको देखिन्छ ।



