०४ बैशाख, माडी । वन्यजन्तु सप्ताह २०८३ को अवसर पारी माडीको बनकट्टास्थित रीउ नदी क्षेत्रमा सरसफाई गरिनुका साथै दाहसंस्कार गर्ने ठाउँ बनाइएको छ ।
“सुरक्षित मानिस, सुरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग समृद्धिको सेतु” भन्ने नारासहित पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सो सरसफाई भएको हो ।
बनकट्टास्थित माडी प्रवेशद्वारदेखि बनकट्टा रेञ्जपोष्ट, रीउ खोला पुलको दायाँबायाँ, दाहसंस्कार क्षेत्रको प्लास्टिकजन्य सरसफाई गरिएको पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष राजकुमार पाठकले बताउनुभयो ।

यसबाहेक माडी प्रवेशद्वार नजिकै दाहसंस्कार गर्दा उत्पन्न दुर्गन्धलाई रोक्न जेसिबी एक्सकाभेटर मेसिनको प्रयोग गरी पुलभन्दा ५०० मिटर टाढा दाहसंस्कार स्थान बनाइएको अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
सरसफाई कार्यमा निकुञ्जका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय क्लब तथा होटल व्यवसायीहरू समेत गरी ४५ जनाको सहभागिता रहेको थियो ।



