चितवन खबर पोष्ट

माडीमा भू-उपयोग वर्गीकरण प्रतिवेदन हस्तान्तरण, जग्गा व्यवस्थापनमा सुधार अपेक्षा

०५ बैशाख, माडी । माडी नगरपालिकाले भू-उपयोग वर्गिकरण कार्य पुरा गरी माडीस्थित मालपोत र नापी कार्यालयलाई भू-उपयोग अन्तिम प्रतिवेदन हस्तान्तरण गरेको छ ।

प्रतिवेदनमा माडी नगरपालिकाका जमीनलाई हालको अवस्था र भावी योजनाका आधारमा कृषि क्षेत्र (खेतीपातीका लागि उपयुक्त जग्गा), आवासीय क्षेत्र (बसोबास गर्न छुट्याइएको जग्गा), व्यावसायिक क्षेत्र (पसल, कार्यालय, व्यापारिक केन्द्र सञ्चालन गर्ने जग्गा), औद्योगिक क्षेत्र, पर्यटन र धार्मिक क्षेत्र लगायतमा वर्गिकरण गरेको माडी नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो ।

पछिल्लो १ बर्षदेखि लगातार काम गरी १००० बढि पृष्ठको सो प्रतिवेदन तयार गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले जानकारी दिनुभयो । नगरप्रमुख महतोले शुक्रबार सो प्रतिवेदन मालपोत र नापी कार्यालयका अधिकारीलाई हस्तान्तरण गर्नुभएको हो ।

प्रतिवेदन पाएसंगै अब श्रेष्ताहरु अपडेट गरिने मालपोत कार्यालयले जनाएको छ । यसबाट जग्गाको अनावश्यक खण्डिकरण रोकिने तथा जमीनको अवस्था र अवस्थिति अनुसार त्यसको प्रयोजनमा आउने जनाइएको छ ।

तपाईको प्रतिक्रिया