०५ बैशाख, माडी । नागरिक समाज माडी गठनका लागि आज शनिवार माडीमा नागरिक भेला आयोजना भएको छ । विगतमा एक गैरसरकारी संस्थाका रुपमा दर्ता भएकाले सो समूहको संस्थागत वैधताका लागि आज बैशाख ५ गते माडी-६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको सभाहलमा अधिवेशन कार्यक्रम आयोजना भएको हो ।
यसअघि, गत शनिवार सम्पन्न नागरिक भेलाले विगतमा नागरिक समाजले गरेको कामहरुको नैतिक स्वामित्व लिँदै संयोजक, सहसंयोजक(हरु), प्रवक्ता र नागरिक अगुवा(हरु)को नयाँ मोडलबाट समाजलाई पुनः सक्रिय बनाउने प्रारम्भीक छलफल गर्दै अधिवेशनको मिति तय गरेको थियो ।
योसंगै माडीमा पछिल्लो डेढ दशकअघिदेखि सक्रिय रही बिचमा सुस्ताएको नागरिक समाज (सिभिल सोसाइटी) पुनः सक्रिय हुने देखिएको छ । नागरिक समाज कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा राजनीतिक दलको अंग नभई नागरिकहरूको स्वैच्छिक समूह हो, जसले सरकारको गलत नीतिविरूद्ध आवाज उठाउने, सही कार्यलाई स्वागत समर्थन गर्ने तथा सुशासनका लागि दबाब दिने काम गर्दछ ।




