चितवन खबर पोष्ट

स्थानीय तहमा बेनामे उजुरीको रोग फैलियो” — माडी नगरप्रमुख महतो

०५ बैशाख, माडी । माडी नगरप्रमुख ताराकुमारी काजी महतोले ‘स्थानीय तहमा बेनामे उजुरीको रोग फैलिएको’ बताउनुभएको छ । ‘कुनै पनि विकास निर्माण वा योजनाबारे चित्त नबुझे भेटघाट गरी जानकारी दिए वा खुला रुपमा बिरोध गरिदिए हुन्थ्यो भन्ने अपेक्षा रहने’ उहाँले बताउनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाको आयोजनामा माडीमा सञ्चालित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै नगरप्रमुख महतोले सो कुरा बताउनुभएको हो ।

‘काम गर्दै जाँदा कहिलेकाँही बिग्रने भएपनि जानजान काम नबिगारिने’ बताउँदै उहाँले ‘जनप्रतिनिधि र कर्मचारीहरु जिम्मेवार रहेको र कानुनले दिएको अधिकार अनुसार नै काम गर्ने गरेको’ बताउनुभयो ।

कार्यक्रममा आयोगका अधिकारीहरुसंगै माडीका जनप्रतिनिधि, कर्मचारीदेखि शिक्षक र स्थानीय सरोकारवालासम्मको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता आयोग हेटौंडाका कार्यालय प्रमुख (सह–सचिव) रामकृष्ण पुडासैनीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया