०५ बैशाख, माडी । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडा कार्यालयको आयोजनामा माडीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
माडी क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा माडीका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले भ्रष्टाचार तथा अख्तियारको दुरुपयोग सम्बन्धी कानुनी पक्षबारे जानकारी लिएका छन्।
कार्यक्रममा बोल्दै आयोगको हेटौंडा कार्यालयका प्रमुख रामकृष्ण पुडासैनीले उपलब्ध स्रोतसाधनहरूको गुणस्तरीय तथा प्रभावकारी परिचालनबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो। उहाँले कानुनको पालना नगरी वा खराब नियतका साथ काम गरिए भ्रष्टाचार हुने उल्लेख गर्दै आयोगले कानुन र नियतका आधारमा अनुसन्धान गर्ने स्पष्ट पार्नुभयो।

कार्यक्रमका क्रममा सहभागीहरूले आयोगसमक्ष विभिन्न जिज्ञासा तथा सवालहरू राखेका थिए। आयोगका सूचना अधिकारी विमोचन घिमिरेले कार्यपत्र प्रस्तुत गर्दै आयोगको कामकारबाही तथा उजुरी व्यवस्थापनको अवस्थाबारे जानकारी गराउनुभएको थियो।



