०५ बैशाख, माडी । नागरिक समाज माडीको संयोजकमा रमाकान्त सापकोटा र प्रवक्तामा सन्तोष अधिकारी चयन हुनुभएको छ । माडी–६, कल्याणपुरस्थित आनन्द विश्राम चौतारीको नवनिर्मित भवनमा सम्पन्न अधिवेशनबाट जगन्नाथपुरी निवासी नागरिक अगुवा सापकोटालाई संयोजकको र कीर्तनपुर निवासी युवा अगुवा अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
अधिवेशनबाट नागरिक अगुवाहरुमा कृष्ण (लेखनाथ) अधिकारी, प्रकाश चन्द्र चापागाईं, गोविन्द नेपाल, भोजराज खनाल, प्रेम आचार्य, भागिरथ बस्याल, चुडामणि पौडेल, विश्व अवतार घले, सुदर्शन सुवेदी, राजकुमार परियार, प्रमिला महतो, गीता खनाल, देवनारायण शाह, टेकनाथ पौडेल, भक्तिराम पौडेल लगायत नागरिक अगुवाहरुको टोली समेत बनेको छ ।
विगतमा नागरिक समाज माडीमा अध्यक्षात्मक मोडेलको संरचना रहेकोमा त्यसलाई खारेज गर्दै संयोजक, सहसंयोजक र नागरिक अगुवा मोडलको नयाँ कार्यसमूह चयन भएको हो । यो संगै माडीमा पछिल्लो डेढ दशकअघिदेखि सक्रिय रही बिचमा सुस्ताएको नागरिक समाज (सिभिल सोसाइटी) पुनः सक्रिय भएको छ ।

नागरिक समाज कुनै सरकारी निकाय, गैरसरकारी संस्था वा राजनीतिक दलको अंग नभई नागरिकहरूको स्वैच्छिक समूह हो, जसले सरकारको गलत नीतिविरूद्ध आवाज उठाउने, सही कार्यलाई स्वागत समर्थन गर्ने तथा सुशासनका लागि दबाब दिने काम गर्दछ ।



