चितवन खबर पोष्ट

वन्यजन्तु सप्ताहमा माडीमा मानव–वन्यजन्तु सहअस्तित्वबारे अन्तरक्रिया

०६ बैशाख, माडी । ३१औं वन्यजन्तु सप्ताहको अवसर पारी माडीमा मानव वन्यजन्तु सहअस्तित्व सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सहभागी रहँदै माडीका जनप्रतिनिधि, संरक्षणकर्मी र अन्य सरोकारवालाहरुले खुलेर बहस छलफल गरेका छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष पुरन महतोले रीउ करिडोर निर्माण र निकुञ्ज ऐन शंसोधनमा जोड दिनुभयो । त्यस्तै, वडाध्यक्ष माधव चापागाईंले नदीजन्य रोयल्टीमा सहजिकरण गरिनुपर्ने तथा निकुञ्जका रोजगारीका अवसरहरुमा प्रभावित क्षेत्रबासीले प्राथमिकता पाउनुपर्ने बताउनुभयो ।

त्यस्तै, नगर कार्यपालिका प्रवक्ता डण्डपाणी पौडेलले कसरामा राखिएको शौचालयमा शुल्क लिएको भन्दै बिरोध भएकोप्रति आपत्ति जनाउनुभयो । निकुञ्जभित्र सडकको धुलो नियन्त्रण गर्न माडी नगरपालिकासंगै निकुञ्ज कार्यालय र भरतपुर महानगरपालिकाले पनि लगानी गर्नुपर्ने उहाँको माग थियो ।

त्यसैगरी स्वदेश एफ.एम.का अध्यक्ष देवनारायण शाहले समय समयमा खरखडाई खोलिनुपर्ने, हाल ओझेल परेको धोबाहा कसरा घढगाईं सुबिधाप्राप्त बाटो चलाउनुपर्ने, बन्यजन्तुको आक्रमण हुँदा प्रतिकारका क्रममा बन्यजन्तुको मृत्यु भए कानुनी संरक्षण पाउनुपर्ने लगायतका बिषय उठान गर्नुभयो ।

सहभागीका सवालहरुबारे निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जवाफ दिनुभएको थियो । कानुन पालना गर्दै जनताको जीउधन सुरक्षा र विकास निर्माणमा सहजिकरणमा आफूहरु संधै तयार रहेको उहाँको भनाई थियो । सुरक्षित मानिस, संरक्षित वन्यजन्तु : जैविक विविधताको सदुपयोग समृद्धिको सेतु भन्ने नारासहित हाल ३१ औं वन्यजन्तु सप्ताह मनाइँदैछ ।

तपाईको प्रतिक्रिया