०५ बैशाख, माडी । रगत व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालको पाँचौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन गैंडाकोटमा सम्पन्न भएको छ । अधिवेशनले अन्जन दवाडीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षहरूमा रमेश नेपाल, सुरेन्द्र धिताल र मनरुपा पौडेल, महासचिवमा अञ्जन तिवारी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा पवन भूर्तेल, नारायण शर्मा, रामचन्द्र लम्साल, प्रवल केसी, सुवास चन्द आचार्य, माया भण्डारी र कुमार लामिछाने रहेका छन् ।
यद्यपि, अधिवेशनकै क्रममा संस्थाभित्र राजनीतिक प्रभाव र गुटबन्दी देखिँदा विवाद चर्किएको छ । वरिष्ठ उपाध्यक्ष हरिप्रसाद न्यौपाने अध्यक्षका प्रमुख दाबेदार भए पनि महासचिव अन्जन दवाडीले अध्यक्षमा दाबी गरेपछि न्यौपाने पछि हटेका हुन् । उनले संस्थालाई जोगाउन आफूले मार्ग प्रशस्त गरेको बताएका छन् ।

जम्मा ५० मतदाता रहेको अवस्थामा सहमतिमै नेतृत्व चयन गर्नुपर्ने आवाज उठे पनि निर्वाचन प्रक्रियामा अडान लिएपछि विवाद बढेको जनाइएको छ । राजनीतिक प्रभाव देखिएको आरोप लगाउँदै ब्लड डोनर्स सोसाइटी भरतपुर र माडी नगर समितिले निर्वाचन प्रक्रिया नै बहिष्कार गरेका छन् ।
माडी अध्यक्ष डोलराज आचार्य र भरतपुर अध्यक्ष दीपक घिमिरेले सामाजिक संस्थामा गुटउपगुट हाबी भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले संस्थालाई निष्पक्ष र सेवामुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
स्रोतका अनुसार केही पदाधिकारी तथा सदस्यहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट रहेको र सोही प्रभावमा निर्वाचन अघि बढाइएको आरोप लागेको छ । सामाजिक सेवामै केन्द्रित हुनुपर्ने संस्थामा राजनीतिकरण बढ्दै जाँदा लामो समयदेखि सक्रिय प्रतिनिधिहरू निराश बनेका छन् ।



