०६ बैशाख, माडी । माडी नगरपालिकाले वडा नं. १ कार्यालयका लागि जग्गा दान गर्न वा निःशुल्क उपलब्ध गराउन सार्वजनिक आग्रह गरेको छ । नगरपालिकाको ६९औं कार्यपालिका बैठकले वडा नं. १ को वडा कार्यालय भवनका लागि जग्गा प्राप्ति गर्न तोकिएको क्षेत्रभित्र निःशुल्क जग्गा प्राप्त गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
यसअघि नगर कार्यपालिकाको ६८ औं बैठकले सो वडा कार्यालय भवनका लागि पूर्वमा चिताई खोला, उत्तरतर्फ वडा नं. २ को सिमाना, दक्षिणमा चैनपुर जाने बाटो र पश्चिम डाङग्रे खोलाबीचको जमीन क्षेत्र निर्धारण गरेको थियो ।
६८औं बैठकले जमीन खरिद प्रक्रिया अगाडि बढाउने आशयको निर्णय गरेपनि ६९औं बैठकमा आइपुग्दा निःशुल्क जमीन प्राप्त गर्ने आशयको निर्णय भएसंगै सो वडाको भवन निर्माण प्रक्रिया पुनः अनिश्चिततातर्फ मोडिएको छ । वडा नं. १ कार्यालय हालसम्म भाडाको दुईवटा कोठाबाट सञ्चालनमा रहेको छ ।

भवन निर्माणका लागि हाल क्रमागत शीर्षकमा करीब ६० लाख रुपैंया बजेट रहेको वडाध्यक्ष अमित लामाले बताउनुभयो । तर, यसअघि पनि सो वडा कार्यालयको भवन निर्माणका लागि बजेट विनियोजन हुने गरेको भएपनि जमीनको व्यवस्थापन हुन नसक्दा काम सुरु हुन सकेको छैन ।



