०७ बैशाख, माडी । बघौंडा मध्यवर्ती उपभोक्ता समितिको निर्वाचन अन्तर्गत इकाई तहबाट ४ जना निर्वाचन प्रक्रियामार्फत तथा ५ जना सर्वसम्मत रूपमा प्रतिनिधि (सदस्य) चयन भएका छन्। चयन भएका सबै प्रतिनिधिहरू पुरुष रहेका छन्।
समितिको इकाई-२ मा हिरामणि चौधरी २० मत प्राप्त गरी विजयी हुनुभयो भने उहाँका प्रतिस्पर्धी ओमप्रकाश महतोले ७ मत प्राप्त गर्नुभयो। सो इकाईमा १ मत बदर भएको थियो।
त्यस्तै, इकाई-३ मा त्रिलोकी महतोले १५ मत प्राप्त गर्दै मनोज लामिछाने (१० मत) लाई पराजित गर्नुभयो। इकाई-४ मा शेरबहादुर बि.क.ले १२ मत ल्याई खेम पाठक (४ मत) लाई पराजित गर्दै विजयी हुनुभयो।

यसैगरी, इकाई-७ मा लोकप्रसाद देवकोटाले ७ मत प्राप्त गर्दै रास्वपा वडाका सभापति समेत रहनुभएका लेखनाथ भुसाल (६ मत) लाई पराजित गर्नुभयो। उक्त इकाईमा पनि १ मत बदर भएको थियो।
यसका अतिरिक्त, इकाई-१ बाट कृष्णबहादुर रानाभाट, इकाई-५ बाट सुरेन्द्र महतो, इकाई-६ बाट बलराम महतो, इकाई-८ बाट खड्कबहादुर सुनार र इकाई-९ बाट चण्डीप्रसाद दुबे सर्वसम्मत रूपमा प्रतिनिधि (सदस्य) चयन हुनुभएको छ।



