१० बैशाख, माडी । माडीमा सञ्चालित होमस्टेहरुमा बसाईंका लागि अनलाइन बुकिङ गर्न वा रिजर्भेशनको अवस्था अनलाइनबाटै थाहा पाउन सकिने भएको छ । पर्यटन वेवसाइट एक्सप्लोर माडी परियोजना अन्तरगत माडी नगरपालिकाले नगर क्षेत्रका सातवटै सामुदायिक होमस्टेहरुलाई सो वेव पोर्टलमा जोडेर त्यहाँको बुकिङको सेवा प्रदान गरेको हो ।
अब आन्तरिक तथा बाह्य पर्यटकहरूले एउटै डिजिटल प्लेटफर्ममार्फत आफूले रोजेको होमस्टेमा कोठा उपलब्धता जाँच गर्न, खाना तथा खाजाको दररेट बुझ्न, विभिन्न पर्यटकीय प्याकेजहरूको जानकारी लिन तथा सिधै बुकिङ गर्न सक्ने नगरका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीले जनाउनुभयो ।
यस कार्यका लागि नगरका सबै सामुदायिक होमस्टेहरूलाई बुधबार अनुशिक्षण गरी वेवसाइटको युजर आइडी तथा पासवर्ड हस्तान्तरण गरिएको नगरप्रमुख ताराकुमारी काजी महतोले बताउनुभयो । नगरप्रमुख महतोले गत बैशाख १ गते सोमेश्वरगढीमा क्युआर स्क्यानर अनावरण गरी एक्सप्लोरमाडी पर्यटन साइट परियोजना समुद्घाटन गर्नुभएको थियो




