११ बैशाख, माडी । स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गर्न माडीका रक्त अभियन्ताहरुले नगर कार्यपालिकालाई ध्यानाकर्षण गराएका छन् । रेडक्रसकर्मी भागिरथ बस्याल सहित योग र स्वास्थ्य क्षेत्रमा सक्रिय रक्तदान अभियन्ताहरुले शुक्रबार बिहान माडी नगरपालिकालाई एक ध्यानाकर्षण पत्र बुझाएको हो ।
ध्यानाकर्षण पत्रमा कक्षा २ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा रगतको महत्व, आकस्मिक दुर्घटना र रक्तअल्पता लगायतमा रक्तदाता शिक्षालाई समावेश गर्न माग गरिएको हो ।
स्थानीय तहको पाठ्यक्रममा रक्तदान शिक्षा प्रदान हुनसके विद्यार्थीहरुमार्फत आफ्ना अभिभावकहरुलाई नियमित रक्तदाता बन्न प्रेरित गर्ने वातावरण निर्माण हुनुका साथै बालबालिकाको हृदयमा करुणा र सेवाभावको बीज रोपिने र असल नागरिक निर्माणमा समेत महत्वपूर्ण योगदान पुग्ने रक्तदान अभियन्ता भागिरथ बस्यालले बताउनुभयो ।

अझै पनि मानिसहरूमा रक्तदान सम्बन्धी भ्रम र भय रहेका कारणले पनि नियमित रक्तदाताहरूको संख्या कम रहेको छ । बेलाबेला चितवनमा रगत अभाव खड्किरहँदा स्वयंसेवी भूमिका खेलिरहेका अभियन्ताहरूले व्यवस्थापन गर्ने गरेका छन् ।



