१३ बैशाख, माडी । माडी आँखा उपचार केन्द्रको आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा माडीका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूका लागि १ दिने आँखा उपचार सम्बन्धी क्लिनिकल तालिम दिइएको छ ।
माडी भिलेजमा आयोजित सो तालिममा माडीका ९ वटा स्वास्थ्य संस्था र आयुर्वेद अस्पतालका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । तालिमसँगै अब माडीका सबै स्वास्थ्य चौकी तथा स्वास्थ्य इकाइहरूमा प्रारम्भिक आँखा परीक्षण सेवा सुरु हुने भएको छ ।
यसका लागि नेपाल नेत्रज्योति संघ अन्तर्गत भरतपुर आँखा अस्पतालले आवश्यक उपकरण (स्मार्टफोन) उपलब्ध गराइसकेको छ । यस सेवामार्फत स्वास्थ्य संस्थाबाट माडी आँखा उपचार केन्द्रमा सिफारिस गरिएका बिरामीहरूले टिकट शुल्क नतिर्नुपर्ने र विभिन्न प्रकारका शल्यक्रियामा एक हजार रुपैयाँसम्म छुट सुविधा पाउने व्यवस्था गरिएको छ




