१६ बैशाख, माडी । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले अतिक्रमण गरी बसोबास तथा संरचना निर्माण गरिएका वन क्षेत्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।
निकुञ्ज प्रशासनले एक सूचना जारी गर्दै मध्यवर्ती वन क्षेत्र, सामुदायिक वन, कबुलियती वन, सडक छेउ, खोला तथा नदी किनारका वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरी बनाइएका टहरा, घर, कटेरा, घेराबार, पक्की संरचना तथा खेतीपाती तत्काल हटाउन निर्देशन दिएको हो।
सूचनामा तोकिएको १५ दिनभित्र अतिक्रमण हटाई वन क्षेत्र खाली नगरे कानुनी कारबाही गरिने चेतावनी दिइएको छ। मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही हुने उल्लेख गरिएको छ।

अटेर गरी अतिक्रमण जारी राखेमा संरचना भत्काउने, जरिवाना तथा कैद सजायसम्म हुन सक्ने निकुञ्ज कार्यालयले जनाएको छ। साथै अतिक्रमण हटाउने कार्यमा अवरोध पुर्याउने व्यक्तिलाई समेत कानुनी कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।



