२१ बैशाख, माडी । बैंकल्पिक व्यवस्थापन नगरी हठात् सुकुम्बासीहरूको घरटहरामा डोजर चलाएको भन्दै रास्वपा पार्टीभित्रै र बाहिर नागरिकस्तरमा समेत आलोचित हुन थालेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले ‘कसैलाई पनि उठिबास गरिने अवस्था सिर्जना नहुने’ बताएका छन् ।
प्रधानमन्त्री बालेनले काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी जग्गामा रहेका सुकुम्बासी बस्ती हटाउने विषयलाई लिएर फैलिएको त्रासप्रति प्रतिक्रिया दिँदै ‘सरकारले कसैलाई पनि घरबारविहीन बनाउने मनसाय नरहेको’ स्पष्ट पारेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले ‘सरकारी जग्गा अतिक्रमण भएका क्षेत्रमा कानुनअनुसार अघि बढाइएको व्यवस्थापन प्रक्रियालाई लिएर नियोजित रूपमा भ्रम र त्रास फैलाइएको’ बताएका छन्। उनले ‘अपुष्ट सूचना र अफवाहको पछि नलाग्न’ भन्दै नागरिकलाई आग्रह गरेका छन्।

बालेनले बस्ती व्यवस्थापनको नाममा कसैलाई पनि अन्याय नहुने दाबी गर्दै सबै नागरिकका लागि सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। साथै, कुनै पनि नागरिकलाई उठिबास गरिने अवस्था सिर्जना नहुने भन्दै अनावश्यक रूपमा नआत्तिन सबैलाई अनुरोध गरेका छन्।
यसअघि, राष्ट्रिय स्वतन्त्र पार्टीले अव्यवस्थित बसोबास रहेको क्षेत्रमा तत्काल कुनै कारबाही प्रक्रिया अगाडि नबढाउने घोषणा गर्दै सरकारलाई पनि सोहीअनुसार सुझाव दिने निर्णय गरेको थियो । त्यस्तै, दुई तिहाइको वर्तमान सरकारले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको भन्दै नागरिक समाजका अगुवाहरूले गम्भीर आपत्ति जनाएका थिए ।



