माडी (स्थानीय) खबर पोष्ट

वडा ८ को सार्वजनिक सुनुवाईमा विकास, पोलबत्ती र जनजीविकाका मुद्दा उठे

२२ बैशाख, माडी । माडी नगरपालिका ८ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम वडा कार्यालय परिसरमा मंगलबार (आज) सम्पन्न भएको छ । कार्यक्रममा सहभागी रहँदै ८ नं. वडावासीहरुले विकास निर्माण र जनजीविका सम्बन्धी दर्जनौं प्रश्न, गुनासो र सुझाव प्रस्तुत गरेका छन् ।

कार्यक्रममा बोल्दै वडाबासी नागरिक रामकुमार प्रजाले बाह्रघरे क्षेत्रमा बाटो, पोलबत्ती र अन्य सेवा सुबिधा नपुगेको गुनासो गर्नुभयो । त्यस्तै, हिमा पुरीले इन्द्रबस्ती क्षेत्रमा जंगली जनावरको समस्या रहेको, पोलबत्ती नपुगेको, बस्ती पातलिँदै गएको र जीवनपुर क्षेत्रमा बाटो बन्न बाँकी रहेको उजागर गर्नुभयो । बस्तीमा सिंचाईको समस्या रहेको, पाइप नपाइएको र जटायु पार्कका लागि अपर्याप्त बजेट (५० हजार रुपैंया मात्र) पाइएको उहाँको गुनासो थियो ।

त्यसैगरी, अर्का प्रश्नकर्ता सम्भु दर्जीले बेलाउती डाँडा क्षेत्रमा २ लाख रुपैंया बजेटबाट भएको ग्राभेलमा ग्रेडर नगरिएकोले राम्रो काम नभएको औंल्याउनुभयो । वडाका भित्री सडकमा पोलबत्ती जोड्न ध्यान दिन आग्रह गर्दै अन्य विकास निर्माण कार्यका लागि उहाँले वडा कार्यालयलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै सुमन भट्टराई तिमिल्सिनाले साना किसान सहकारीहरुले महिलाको उद्यमशीलता विकासमा काम गरिरहेकाले सो संस्थासंग सहकार्य गरी काम गर्न वडालाई अनुरोध गर्नुभयो । त्यस्तै, नित्यानन्द गिरी (प्रहरी)ले टम्टास्थित प्रहरी चौकीमा कम्पाउण्ड नहुँदा प्रहरी नै असुरक्षित रहेको भन्दै कम्पाउण्ड निर्माणमा सघाउन अनुरोध गर्नुभयो ।

कार्यक्रममा सवाल राख्दै बिष्णुकुमारी थापाले बेलाउतीडाँडा, कान्तिपुर र बाह्रघरे क्षेत्रको बाटो सुधार गर्न, सो क्षेत्रमा पोलबत्ती राख्न र प्राथमिकता दिन अनुरोध गर्नुभयो । त्यस्तै, सीमा पुरीले टोलमा घरधुरी संख्या ३५ बाट घटेर १५ पुगेकाले पोलबत्ती र अन्य योजनाहरुमा लाभग्राहीको प्रतिपरिवार लगानी रकम धेरै बढेको गुनासो गर्नुभयो ।

त्यस्तै, राजकुमार परियारले बैकुण्ठ मेलास्थल जान कान्तिपुरको बाटोलाई पनि कालोपत्रे गरी बैंकल्पिक बाटो बनाउनुपर्ने, बाह्रघरे क्षेत्रमा बाटो मर्मत र खानेपानीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य वीमा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र जंगलको छेउछाउको बस्तीमा सडक बत्ती वा ह्यालोजन बत्ती राख्नुपर्नेल सुझाव दिनुभयो । बैकुण्ठ मेला सञ्चालनको जिम्मेवारी नगरले लिएर आय पनि संकलन गरेको तर खर्च निकाशा रोकिदिएको उहाँको गुनासो थियो ।

त्यसैगरी, प्रेम सुनारले पोलबत्तीमा लगानी बढाउनुपर्ने भन्दै टोल विकास संस्थाहरुको सक्रियता बढाउनुपर्ने र यसका लागि हरेक टोल विकास संस्थाहरुलाई बजेट दिनुपर्ने माग गर्नुभयो । त्यस्तै, पूर्णभद्र पनेरुले विगत १०२२ सालमा आफूहरु आएदेखि सो वडा क्षेत्रमा हाल धेरै विकास भएको औंल्याउँदै विकास भएपनि मानिसहरुको पलायन नरोकिएको बताउनुभयो । अबको ५ बर्षपछि हाल पलायन भएकाहरु माडीमा फर्किन सुरु गर्ने र त्यसका लागि पहल लिन उहाँको भनाई थियो ।

वडाध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले उत्तरित र अध्यक्षता गर्नुभएको सो कार्यक्रममा वडा सदस्य जीतबहादुर शाहीले स्वागत तथा कार्यवाहक वडा सचिव राधा अधिकारीले कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम स्वदेशकर्मी दीप्ति विश्वकर्माले सञ्चालन र देवनारायण शाहले सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया