माडी (स्थानीय) खबर पोष्ट

बुद्धज्योति र माडी–८ दोस्रो चरणमा प्रवेश

२३ बैशाख, माडी । माडी-२, भैरवपुरस्थित खेलकुद चौरमा सञ्चालनमा रहेको तेस्रो शोभाखर काफ्ले स्मृति नकआउट फुटबल प्रतियोगिताको तेश्रो दिन मंगलबारका खेल जित्दै बुद्धज्योति क्लब र माडी–८ फुटबल टिम दोश्रो चरण प्रवेश गरेका छन् ।

पहिलो खेलमा धुब्रतारा युवा क्लब र बुद्ध ज्योति युवा क्लबबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदै २-२ गोलको बराबरी भएसंगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा बुद्ध ज्योति युवा क्लबले ५-४ ले जित निकाल्दै विजयी भएको हो । उक्त खेलमा बुद्ध ज्योति युवा क्लबका सञ्जय महतो ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो । हावाहुरी चलेका कारण सोमवार रोकिएको सो खेल मंगलबार (आज) दिउँसो सञ्चालन भएको हो ।

त्यसैगरी दोस्रो खेल माडी-८ र कल्याणपुर युवा क्लबबीच भएकोमा निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा ४-२ गोलअन्तरबाट माडी-८ फुटबल टीमले जित हासिल गर्दैगर्दा सोही टिमका इसान्त तामाङ ‘म्यान अफ द म्याच’ घोषित हुनुभयो ।

दिवंगत समाजसेवी शोभाखर काफ्‌लेको स्मृतिमा माडी-२ वडा कार्यालय र ज्ञानज्योति युवा क्लब, भैरवपुरको आयोजनामा ’हाम्रो अभियान : स्थानीय खेलाडी उत्पादन’ भन्ने नारासहित आउँदो बैशाख २७ गतेसम्म सञ्चालन हुनेगरी सो फुटबल प्रतियोगिता सञ्चालन भएको हो ।

तपाईको प्रतिक्रिया