२४ बैशाख, माडी । माडी नगरपालिकाले आधारभूत विद्यालय तहमा स्थानीय पाठ्यक्रम (हाम्रो माडी) पढाउन अनिवार्य गरेसंगै माडीका धेरै विद्यालयहरुमा कम्प्युटर बिषय पढाइ नहुने भएको छ । नगर शिक्षा समितिको हालैको बैठकले १०० पूर्णाङ्क (४ क्रेडिट आवर)को स्थानीय पाठ्यक्रम पढाउन सबै विद्यालयहरुमा अनिवार्य गर्ने निर्णय गरेको हो ।
यसअघि पाठ्यभार मिलाउँदै प्रायः विद्यालयहरुले हाम्रो माडी (५० पूर्णाङ्क) र कम्प्युटर (५० पूर्णाङ्क) मिलाई ५ क्रेडिट आवर पुर्याएर पढाउने गरेका थिए । अब स्थानीय पाठ्यक्रम (हाम्रो माडी)लाई नै पूर्ण अवधी पढाउनुपर्ने भएसंगै कम्प्युटर बिषय धरापमा परेको छ ।
स्थानीय पाठ्यक्रम नबन्दासम्म कम्प्युटर कक्षा चलाइएपनि अब स्थानीय पाठ्यक्रम तयार भएकोले यो निर्णय गरिएको नगर शिक्षा शाखाले जनाएको छ । यद्यपि, कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यपुस्तक (किताब) भने अझैसम्म छापिएर आएको छैन । सो तहको किताब लेखन कार्य नै पुरा भएको छैन ।

विगतमा कक्षा ४ देखि नै माडीका सामुदायिक विद्यालयहरुमा कम्प्युटर बिषय पठन-पाठन हुनेगरेको थियो । यस्तोमा नगर शिक्षा समितिले सूचना प्रविधि, कृत्रिम बौद्धिकता र डिजिटल साक्षरता अत्यावश्यक रहेको हालको विश्व परिवेशभन्दा बिपरित (उल्टो) निर्णय गरेको माडीका अभिभावकहरुको गुनासो छ । (फाइल फोटो)



