चितवन खबर पोष्ट

माडी-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, अर्का एक जना घाइते

२३ बैशाख, माडी । चितवनको माडी नगरपालिका-८ बेलौतीडाँडामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

बुधबार (आज) अपरान्ह करिब ३ः४० बजे खरकट्टाबाट चौकीडाँडा जाँदै गरेको बालुवा लोड प्रदेश २-०३-००१ त ७३०७ नम्बरको ट्याक्टर उकालो चढ्ने क्रममा अगाडिको भाग उठ्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा माडी नगरपालिका-८ निवासी अन्दाजी ३६ वर्षीय पूर्ण बहादुर प्रजा ट्याक्टरको स्टेरिङमा च्यापिँदा घटनास्थलमै मृत्यु भएको छ। सोही ट्याक्टरमा ज्यामीका रूपमा कार्यरत १४ वर्षीय अभिषेक परियार घाइते भएका छन्। उनको हात भाँचिएकोमा उपचार भई डिस्चार्ज भएका छन् ।

स्थानीयका अनुसार बेलौतीडाँडामा शौचालय निर्माणका लागि घाँघर खोलाबाट बालुवा ल्याउने क्रममा उक्त दुर्घटना भएको हो। कच्ची बाटोको सामान्य उकालोमा चढ्दा ट्याक्टर अनियन्त्रित भई अगाडिको भाग उठेर पल्टिन पुगेको वडाध्यक्ष वीरेन्द्र भण्डारीले जानकारी दिनुभयो। (फोटो: किरण गायक)

तपाईको प्रतिक्रिया