२५ बैशाख, माडी । सरकारले विकल्पबिनै बस्ती खाली गराउन थालेपछि देशभरका भूमिहीन तथा अव्यवस्थित बसोवासी आन्दोलनमा उत्रिएका छन् । काठमाडौंबाट सुरु भएको बस्ती खाली अभियान देशभर विस्तार हुने तयारी भएपछि विभिन्न जिल्लामा प्रदर्शन चर्किएको हो ।
बुटवल, झापा, दाङ, मोरङ, पोखरा, हेटौंडा, बर्दिया, धरान र धनुषालगायत क्षेत्रमा भूमिहीनहरूले सडक प्रदर्शन गर्दै पुनर्वासको व्यवस्था नगरी डोजर चलाउन नहुने बताएका छन् । प्रदर्शनकारीहरूले वास्तविक भूमिहीनको पहिचान गरी लालपुर्जा वितरण गर्न माग गरेका छन् ।
सरकारले ६० दिनभित्र लगत संकलन र १००० दिनभित्र लालपुर्जा वितरण गर्ने घोषणा गरे पनि तयारीबिनै बस्ती हटाउन थालेको भन्दै उनीहरूले विरोध जनाएका हुन् । भूमि आयोग खारेज गरेर नयाँ समिति बनाउने सरकारी योजनाप्रति पनि भूमिहीनहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।




