२६ बैशाख, माडी । माडीमै पहिलोपटक आयोजित नगरस्तरीय पुरुष भेट्रान लिग भलिबल प्रतियोगिता-२०८३ विधिवत् सुरु भएको छ । शुक्रबार कीर्तनपुर बजारमा एक औपचारिक कार्यक्रमबीच माडी–१ का वडाध्यक्ष अमित कुमार लामाले सो प्रतियोगिता समुद्घाटन गर्नुभयो ।
समुद्घाटन लगत्तै माडी-७ र माडी-९ को भेट्रान टोलीबीच समुद्घाटन खेल सञ्चालन भएको थियो । वडाध्यक्ष लामाका भिनाजु समेत रहनुभएका अष्ट्रीयन नागरिक एल्मन मुलरले सर्भिस गरी सो उद्घाटन खेलको उद्घाटन गर्नुभयो । खेलमा सोझो सेटमा जीत हासिल गरी वडा नं. ७ को भेट्रान टोलीले एक अंक जोडेको छ ।
त्यस्तै दोश्रो खेलमा वडा नं. ६ को तमु र मल्लाजी समाज भिडेंकोमा २–१ सेटमा तमु समाजले जित हासिल गर्दै १ अंक हासिल गरेको छ । माडीको बरुवा, बसन्तपुर, कीर्तनपुर, कृष्णनगर लगायत ५ स्थानमा सञ्चालन हुने सो खेल उत्सव आगामी जेष्ठ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका संयोजक बिनोद अधिकारीले बताउनुभयो ।




