२५ बैशाख, माडी । माडी नगरपालिका-२ भैरवपुरमा जारी तेस्रो शोभाखर स्मृति कप-२०८३ माडी नगरस्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलबाट योङ्गस्टार क्लब र जनकल्याण तमु समाज सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पहिलो खेलमा योङ्गस्टार क्लब, माडी-३ पौहारीले बुद्धज्योति युवा क्लब, माडी-४ लाई १–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा योङ्गस्टारका जर्सी नम्बर ११ का अमन बोट म्यान अफ द म्याच घोषित हुनुभयो ।
त्यसैगरी दोस्रो खेलमा जनकल्याण तमु समाज, माडी-६ र बसन्तपुर युनाइटेड क्लब, माडी-३ बीच निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टीमा जनकल्याण तमु समाज ३–१ ले विजयी बन्दै सेमिफाइनल प्रवेश गरेको हो । उक्त खेलमा जनकल्याणका जर्सी नम्बर १६ का विवश क्षेत्री म्यान अफ द म्याच घोषित हुनुभयो ।

प्रतियोगिताअन्तर्गत अब शनिबार दुई वटा सेमिफाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ । पहिलो सेमिफाइनलमा माडी-८ को टिम र डाइनामिक युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो सेमिफाइनलमा योङ्गस्टार क्लब र जनकल्याण तमु समाज आमनेसामने हुनेछन् ।



