२६ बैशाख, माडी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुम्बासी बस्तीमा डोजर चलाएर, लाठी–बुट र राज्यशक्ति देखाएर समस्या समाधान नहुने बताउनुभएको छ । चितवनको भरतपुरमा आयोजित सम्बोधनका क्रममा उहाँले नागरिकको घर भत्काएर बेघर बनाउने कार्य अमानवीय र अस्वीकार्य भएको बताउनुभयो ।
साम्पाङले आफू सांसद वा प्रतिपक्ष दलको नेता मात्रै नभई सर्वप्रथम एक मान्छे भएकाले पीडित नागरिकको दुःखमा साथ दिन आएको बताउनुभयो । उहाँले सुकुम्बासी समस्या व्यवस्थापन नगरी बल प्रयोग गर्नु लोकतान्त्रिक सरकारको शैली नभएको उल्लेख गर्नुभयो ।
गाँस, बास र कपास नागरिकको आधारभूत आवश्यकता भएको भन्दै उहाँले विस्थापित नागरिकलाई होल्डिङ सेन्टर, लज वा टेन्टमा राख्नु समाधान नभएको जिकिर गर्नुभयो । सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जो जहाँ बसेका छन् त्यहीँ व्यवस्थित रूपमा बस्न पाउने अधिकार सुनिश्चित गर्न सरकारसँग उहाँको माग थियो । उहाँले सुकुम्बासीलाई नडराउन आग्रह गर्दै अन्यायविरुद्ध आफू साथमा रहने प्रतिबद्धता समेत जनाउनुभयो ।




