३१ बैशाख, माडी । माडीमा परिवारसँगै घरमै बसेर भरतपुरमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एपेक्स कलेज भरतपुरले बस सेवा सञ्चालन गर्ने भएको छ ।
भरतपुरमा कोठा भाडामा लिएर बस्नुपर्दा महँगो तथा असहज हुने अवस्था र सन्तानलाई आफ्नै छत्रछायाँमै राखेर शिक्षादीक्षा दिन चाहने अभिभावकको आवश्यकता मध्यनजर गर्दै माडीदेखि भरतपुरसम्म दैनिक कलेज बस सञ्चालन गर्न लागिएको कलेजका अध्यक्ष आर.सी. पियाले जानकारी दिनुभयो ।
कलेजमा बायो साइन्स, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट तथा जेनेरल म्यानेजमेन्ट विषयमा कक्षा ११ र १२ को पठनपाठन हुँदै आएको छ । हालै विद्यालय शिक्षा परीक्षा (एस.ई.ई.) उत्तीर्ण गरेका (र ग्रेडवृद्धि परीक्षामा सहभागी हुन लागेका) विद्यार्थीहरूका लागि नयाँ भर्ना पनि खुला गरिएको कलेजले जनाएको छ ।

यसअघि उच्च शिक्षा अध्ययनका लागि माडीका अधिकांश विद्यार्थी भरतपुरमै बस्न बाध्य थिए । तर माडी–भरतपुर सडक सञ्जालको विस्तार र यातायात पहुँच सहज बन्दै गएपछि अब विद्यार्थीहरू दैनिक कलेज बसमार्फत आउजाउ गर्दै उच्च शिक्षा अध्ययन गर्न सक्ने वातावरण बनेको छ ।



