३१ बैशाख, माडी । माडी माध्यमिक विद्यालयको अभिभावक भेलाबाट व्यवस्थापन सदस्यमा दुई महिला र दुई पुरुष अभिभावक छनौट गरेको छ ।
बिहीबार विद्यालयमा सम्पन्न भेलाबाट महिलातर्फ थारू महिला अगुवा प्रमिला महतो र व्यवसायिक पृष्ठभूमिका अमृता के.सी. चयन हुनुभएको हो भने पुरुषतर्फ पूर्व वडाध्यक्ष कृष्णप्रसाद पौडेल र खेल प्रशिक्षक नबिन बस्याल सदस्य चयन हुनुभएको छ । सदस्यहरू मध्येबाट वि.व्य.स. अध्यक्षको चयन हुनेछ ।
त्यसैगरी, भेलाबाट शिक्षक अभिभावक संघको संयोजकमा लोक सर्जक एवं सामाजिक अगुवा शुलभ बन्धु पोख्रेल चयन हुनुभएको छ । शिक्षा ऐन, २०२८ को दफा १२ को व्यवस्था अनुसार एवं केहि नेपाल ऐनलाई शंसोधन गर्न बनेको अध्यादेश बमोजिम गठन हुने व्यवस्थापन समितिका लागि सदस्य चयन गरिएको विद्यालयका प्रधानाध्यापक भूपेन्द्र पौडेलले बताउनुभयो ।

यसअघि, माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई अध्यादेशले गरेको व्यवस्था बमोजिम विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) पुनर्गठन गर्न निर्देशन दिएको थियो ।



