चितवन खबर पोष्ट

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणः विक्रम पाण्डे चार लाख धरौटीमा रिहा

०१ जेष्ठ, माडी । सार्वजनिक खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरेको आरोपमा पक्राउ परेका विक्रम पाण्डेलाई जिल्ला अदालत काठमाडौँले चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

बिहीबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश चुरामन खड्काको एकल इजलासले पाण्डेसँग चार लाख रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको हो। पूर्वमन्त्री एवं चितवन-३ का पूर्व सांसद तथा राप्रपा उपाध्यक्ष समेत रहेका पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वैशाख ११ गते पक्राउ गरेको थियो।

यस प्रकरणमा प्रहरीले २२ जनालाई प्रतिवादी बनाएकोमा १२ जना पक्राउ परेका थिए। अदालतले पाण्डेसहित ११ जनालाई विभिन्न रकम धरौटीमा रिहा गर्न आदेश दिंदैगर्दा धनकुटाका दिवाकर देउजालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

धराैटीमा रिहा हुनेहरूमा नुवाकोटका प्रकाश ढुंगाना, तनहुँका सञ्जय भट्ट, सुनसरीका जीवनकुमार दास, काठमाडौँका अमृत बोहोरा, मकवानपुरका सागर कटुवाल, दोलखाका अनिल श्रेष्ठ, काठमाडौँका भाष्करराज अर्याल, धादिङका टंककुमार श्रेष्ठ, सिराहाका स्वदेश पोखरेल र काठमाडौँका ऋषिकेश गौली रहेका छन् ।

तपाईको प्रतिक्रिया