०१ जेष्ठ, माडी । माडी माइतीघर नेपालले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा सूचना प्रविधि शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले माडीका तीनवटा विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ ।
संस्थाले दक्षिण कालिका आधारभूत विद्यालय देवेन्द्रपुर, राष्ट्रिय आधारभूत विद्यालय, दिवानगर र आधारभूत विद्यालय, पाण्डवनगरलाई कम्प्युटर हस्तान्तरण गरिएको हो । अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल प्रा. डा. ई. हरि भण्डारीले सो कम्प्युटर सेट सहयोग गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मनरुपा पौडेलले ग्रामीण क्षेत्रका विद्यार्थीलाई डिजिटल शिक्षामा पहुँच विस्तार गर्नु आजको आवश्यकता भएको बताउनुभयो ।माडी माइतीघर नेपाल चितवनको माडी क्षेत्रलाई मूल घर मान्ने तथा हाल देश–विदेशमा बसोबास गरिरहेका महिलाहरूको साझा भावना, आत्मीय सम्बन्ध तथा सामाजिक उत्तरदायित्वबाट स्थापित सामाजिक संस्था हो ।




