०३ जेष्ठ, माडी । माडीमा फाइबर इन्टरनेट र टि.भी. सेवा प्रदान गरिरहेको टेकमाइण्ड्स नेटवर्कको अष्टिकल फाइबर केबुल (तार) पोलबाटै काटिएर चोरी भएको छ । माडी–८, खरकट्टा क्षेत्रमा करीब २०० मिटर फाइबर केबुल र त्यसका ब्याम्बो बक्स पोलबाटै हराएको कम्पनीका माडी प्रमुख सुदर्शन चापागाईंले जानकारी दिनुभयो ।
यसअघि माडी–१, बनकट्टामा फाइबर केबुल काटिएको अवस्थामा पाइएको बताउँदै उहाँले पछिल्लो एक सातादेखि केबुल काटिने क्रम बढेको जनाउनुभयो । खरकट्टामा फाइबर केबुल हराउँदा चौकीडाँडा, इन्द्रबस्ती र कान्तिपुर क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएकाले नयाँ केबुल जोडेर इन्टरनेट सेवा सुचारु गराउन लागिएको उहाँको भनाई छ ।
विगतमा वायरलेस (ताररहित) प्रविधिबाट इन्टरनेट सेवा दिइरहेको सो कम्पनीले हाल भरतपुरबाटै अप्टिकल फाइबर कनेक्सन समेत लिएर हाइब्रिड (अप्टिकल फाइबर र वायरलेस) कनेक्सन स्थापित गरी माडी क्षेत्रमा तुलनात्मक न्यून शुल्कमा (एफ.टि.टि.एच.) इन्टरनेट र (आई.पि.) टि.भी. सेवा प्रदान गरिरहेको छ ।




