०३ जेष्ठ, माडी । जननेता मदनकुमार भण्डारी र जीवराज आश्रितको स्मृतिमा नेकपा (एमाले) चितवनले दासढुंगामा श्रद्धाञ्जली कार्यक्रम गरेको छ । भरतपुरबाट मोटरसाइकल ¥यालीसहित पुगेका नेता–कार्यकर्ताले आइतबार शालिकमा माल्यार्पण गर्दै उहाँहरूको योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली ले मदन–आश्रितको विचारले कठिन अवस्थामा पनि अघि बढ्ने प्रेरणा दिएको बताए । बागमती प्रदेशसभा संसदीय दलका नेता जेएन थपलिया ले उहाँहरूको सोचलाई अझ सशक्त रूपमा अघि बढाउनुपर्ने धारणा राखे ।
एमाले चितवनले मदन–आश्रित स्मृति दिवसका अवसरमा पाँचदिने कार्यक्रम तय गरेको छ । जेठ ४ गते ‘जनताको बहुदलीय जनवादको कसीमा वर्तमान अवस्था र आगामी कार्यभार’ विषयक अन्तर्क्रिया तथा जेठ ५ गते मदन पार्कमा श्रद्धाञ्जली कार्यक्रम हुने जनाएको छ ।

२०५० साल जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा पर्नुभएका पार्टीका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको स्मृतिमा दुर्घटनास्थल कविलासको दासढुंगामा श्रद्धाञ्जली सभाको आयोजना गरी एमालेले स्मृति दिवस मनाउने गरेको छ । नेकपा (एमाले)ले सो दुर्घटनालाई नेताद्वयको रहस्यमय हत्या भन्दै आएको छ ।



