०४ जेष्ठ, माडी । चितवन सक्रिय महिला प्रतिष्ठानले रोचक तथा सहभागितामूलक ढंगबाट लैंगिक हिंसा न्यूनीकरण तथा लैंगिक समानता सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ ।
‘सचेतना मार्केट’ नाम दिइएको सो कार्यक्रममा विभिन्न खेल र उपहार सहितको प्रश्नोत्तर विधिमार्फत सहभागीहरूलाई लैंगिक हिंसा, महिला अधिकार, समान व्यवहार, घरेलु हिंसा, बालविवाह लगायतका विषयमा जानकारी गराइएको हो ।
एक्शन एड नेपालको सहकार्य तथा समृद्धि परियोजना अन्तर्गत सञ्चालन गरिएको सो कार्यक्रमको पहिलो श्रृङ्खला शनिधाम क्षेत्रमा सञ्चालन भएको थियो । खेल खेलाउँदै सिकाइने शैलीका कारण सहभागीहरूले सहज रूपमा विषयवस्तु बुझ्ने, आफ्ना अनुभव साट्ने तथा हिंसा विरुद्ध खुलेर बोल्ने वातावरण बनेको थियो ।

‘सचेतना मार्केट’बाट लैंगिक हिंसा भए कहाँ उजुरी गर्ने, कानुनी सहायता कसरी लिने र पीडितलाई कसरी सहयोग गर्ने भन्ने विषयमा समेत जानकारी प्रदान गरिने प्रतिष्ठानका परियोजना प्रमुख सुजाता बर्ताैला बताउनुहुन्छ ।



