०५ जेष्ठ, माडी । माडी–९, हनुमानझुलास्थित सगरमाथा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा रुपेन प्रजा पुनर्चयन हुनुभएको छ ।मंगलबार विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट स्थानीय युवा अगुवा समेत रहनुभएका प्रजासहित इमबहादुर थापा, फुलमाया मोक्तान र सुन्तली भुजेल सदस्य चयन हुनुभएको हो । सदस्यहरूमध्येबाट पुनः प्रजालाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।
विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालय र शिक्षक प्रतिनिधि चयन हुन बाँकी रहेको विद्यालय व्यवस्थापन समिति सदस्य सचिव तथा प्रधानाध्यापक महावीर गुर्धामीले जानकारी दिनुभयो ।
यसैबीच, २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सगरमाथा माध्यमिक विद्यालयले उल्लेखनीय सुधारसहितको नतिजा हासिल गरेको भन्दै विद्यालयको प्रशंसा भइरहेको छ । विद्युत् तथा अन्य पूर्वाधार नपुगेको दुर्गम क्षेत्रमा अभावबीच सञ्चालन भइरहेको उक्त विद्यालयले माडी माध्यमिक विद्यालय र सोमेश्वर माध्यमिक विद्यालयलाई पछाडि पार्दै ४३.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको थियो ।




