०५ जेष्ठ, माडी । माडी नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी राजनैतिक दलका प्रतिनिधिहरुले स्थानीय विकास निर्माणदेखि सुकुम्बासी समस्या समाधान र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापन सम्मका बिषय उठान गरेका छन् ।
कार्यक्रममा दलिय प्रतिनिधिका रुपमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति नारायण रिजालले सुकुम्बासीहरुको व्यवस्थापन नभई सरकारले कसैलाई नउठाने बताउनुभयो । निकुञ्जभित्र कालोपत्रे बाटो बन्ने र यसका लागि आगामी आ.व.को बजेटबाटै बजेट विनियोजन हुने भन्दै उहाँले पालिका सरकारबीच रास्वपा माडी नगर समितिले लिंकको काम गर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै नेपाली काँग्रेसका प्रतिनिधि शोभाखर चापागाईंले अब माडी नगरपालिकाले निकुञ्जभित्रको कालोपत्रेलाई संघीय सरकारको जिम्मेवारीमा छाड्दै रीउ करिडोरको निर्माणमा अग्रसर हुन र गौरवका योजना छनौट गरी कार्यान्वयनमा लाग्न सुझाउनुभयो ।

सार्वजनिक सुनुवाईमा बोल्दै नेकपा एमाले प्रतिनिधि श्रीप्रसाद दवाडीले पर्यटनको विकासमा थप ध्यान दिन अनुरोध गर्नुभयो । नगर कार्यपालिका अगाडि पनि नमुना प्रतीक्षालय निर्माण गर्न र चमेनाघर बनाउन उहाँको सुझाव थियो । त्यस्तै, नेकपा नगर अध्यक्ष भरत तिमिल्सिनाले सुनुवाईमा गरेको प्रतिवद्धता पुरा गर्नतर्फ लाग्न अनुरोध गर्दै निकुञ्ज सिर्जित समस्या समाधान गर्न र अमुवादेखि बगहीं जोड्ने निकुञ्ज सडकको मर्मत गर्न सुझाउनुभयो ।
कार्यक्रममा बोल्दै राप्रपा प्रतिनिधि हरिकृष्ण चौधरीले निकुञ्जभित्र मोज्याक टायल सडकको परीक्षणका लागि हालको लम्बाई पर्याप्त नरहेको, बनकट्टास्थित माडी प्रवेशद्वारमा रहेको इल.इ.डी. डिस्प्ले लामो समय भैसक्दा पनि मर्मत हुन नसकेको र बनकट्टास्थित रीउको पुरानो पुल भाँसिएको भएपनि मर्मत नभएको औंल्याउनुभयो ।
त्यस्तै, चौधरीले सामुदायिक स्कुलहरुमा अनुगमन बढाउनुपर्ने, बसन्तपुर चौरमा चेन्जिङ रुम बनाउनुपर्ने, माडीमै डाइलायसिस सेवा सुरु हुनुपर्ने, सिमरा धोबाहा रतनी क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्नुपर्ने, वैदेशिक रोजगारीमा जान चाहनेलार्य सीपमूलक तालिमसंगै भाषा तालिम पनि दिनुपर्ने, थारु संग्रहालयलाई ध्यान दिनुपर्ने, मगोई पुलको दुबैतर्फ कालोपत्रे बाँकी रहेकाले सो काम गर्नुपर्ने र निकुञ्जभित्र जनयुद्धको समयमा झैं अहिलेपनि कुकुर लगाएर चेकजाँच गर्ने गरेको काम रोक्नुपर्ने माग समेत गर्नुभयो ।



