०६ जेष्ठ, माडी । विद्यालयकी पहिलो विद्यालय नर्स तथा हाल वैदेशिक रोजगारीमा रहनुभएकी सरु बलाय श्रेष्ठले कृष्णनगर माध्यमिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गर्नुभएको छ ।
श्रेष्ठले करिब १३ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो । उक्त सामग्री बुधबार (आज) बिहान आयोजित प्रार्थना सभामा कक्षा १ देखि १० सम्मका ३० जना विद्यार्थीलाई वितरण गरिएको विद्यालयले जनाएको छ ।
आफ्नो पूर्व कर्मस्थललाई सम्झँदै विद्यार्थीहरूको शिक्षामा सहयोग पुर्याउने उद्देश्यले गरिएको सहयोगप्रति विद्यालय परिवारले सरु बलाय श्रेष्ठप्रति आभार व्यक्त गरेको छ । साथै साे सहयोगको पहलकर्ता रहनुभएका पूर्व शिक्षक विनोद अधिकारीलाई पनि विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।




