चितवन खबर पोष्ट

माडीमा हुलाकी सडक निर्माणमा लापरवाही: नाला र पिचमै बिजुलीका पोल

०७ जेष्ठ, माडी । माडीमा निर्माणाधीन हुलाकी सडक परियोजनामा गम्भीर लापरवाही देखिएको छ। निर्माण पक्ष र नेपाल विध्युत प्राधिकरणबीच पोल सार्ने विषयमा समन्वय नहुँदा नवनिर्मित नाला र पिचबाटोभित्रै बिजुलीका पोल ठडिएको अवस्था देखिएको हो।

माडी-८, जीवनपुरदेखि माडी-९, बगहीँसम्म करिब २५ स्थानमा नाला वा पिचबाटोभित्रै बिजुलीका पोल परेका छन्। यसले हुलाकी राजमार्ग आयोजना, निर्माण कम्पनी बज्रगुरु कन्स्ट्रक्सन तथा नेपाल विध्युत प्राधिकरण तीनवटै निकायको गम्भीर कमजोरी उजागर गरेको स्थानीयको भनाइ छ।

साविकको कालोपत्रे सडक जोतेर पाँच वर्षसम्म अलपत्र पारिएको उक्त सडक माडी नगरपालिका, वडा कार्यालय तथा विभिन्न दबाब समूहको चर्को दबाबपछि मात्रै पुनः कालोपत्रे गर्न थालिएको थियो। तर अत्यन्त सुस्त गतिमा काम हुँदै पटक-पटक म्याद थपिए पनि अहिले सडक र नालाभित्रै पोल परेपछि पुनः संरचना भत्काउनुपर्ने अवस्था सिर्जना भएको छ।

देबेन्द्रपुरको सीमास्थित परुई खोलादेखि बगहीँसम्म करिब ८ दशमलव १५७ किलोमिटर लम्बाइ र ७ मिटर चौडाइको दुईतर्फी कालोपत्रे सडक हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जमार्फत (सुरूवाती) ३५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको हो।

योजनाको तेस्रो तथा अन्तिमपटक थपिएको म्यादसमेत सकिइसकेको छ। तर हालसम्म काम आधामात्र सम्पन्न भएको देखिन्छ। स्थानीयवासीले निर्माणको ढिलासुस्ती, कमजोर समन्वय र प्राविधिक लापरवाहीका कारण आयोजना नै अव्यवस्थित बनेको भन्दै तत्काल सुधारको माग गरेका छन्।

तपाईको प्रतिक्रिया