माडी (स्थानीय) खबर पोष्ट

इमान्दारिता उदाहरण: आशिष मियाँले भेटेको मोबाइल मालिकलाई फिर्ता

०७ जेष्ठ, माडी । आशिष मियाँ मधेशवादी राजनीति गर्छन् र माडीका बिरामीहरुलाई अस्पतालसम्म ल्याउने लैजाने एम्बुलेन्स चलाउँछन् । प्रायः रातीमा हुनेगरेका दुर्घटना र बिरामीहरुलाई भरतपुर लैजान उनको एम्बुलेन्सले निकै सहायता गरेको छ ।

यस्तैमा, गएसाँझ माडीबाट बिरामी लिएर भरतपुर जाँदै गर्दा बनकट्टा पोष्ट नजिकै उनले बाटोमा खसेको अवस्थामा एक थान मोबाइल फेला पारेका थिए। मोबाइल भेट्टाएपछि उनले तत्कालै स्वदेश एफ.एम.मा फोन गरी मोबाइल भेटिएको सूचना सार्वजनिक गरिदिन अनुरोध गरेका थिए।

रेडियोबाट सूचना प्रसारण भएपछि मोबाइल हराएका एक युवा रेडियो कार्यालयमा पुगेका थिए। आवश्यक पहिचानपछि उनले आफ्नो हराएको मोबाइल सुरक्षित रूपमा फिर्ता पाएका छन्। मोबाइल प्राप्त गरेपछि ती युवाले मोबाइल भेटेर जिम्मेवारीपूर्वक फिर्ता गरिदिने आशिष मियाँ तथा रेडियो परिवारप्रति धन्यवाद व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया