०८ जेष्ठ, माडी । माडीका बसन्तपुर र बरुवा बजार क्षेत्रका बिजुलीका पोलमा जडान गरिएका रंगीन रोपलाइटले रातिको समयमा बजारलाई झिलिमिली र आकर्षक बनाएका छन् । रोपलाइटका कारण सडक उज्यालो हुनुका साथै बजार क्षेत्रको सौन्दर्यसमेत बढेको स्थानीयले बताएका छन् ।
माडी नगरपालिका वडा नं. १ कार्यालयको सहयोगमा बरुवा बजारमा तथा वडा नं. ३ कार्यालयको सहयोगमा बसन्तपुर बजार क्षेत्रमा गत वर्ष पोल–पोलमा रंगीन रोपलाइट जडान गरिएको थियो । साँझपख बत्ती बल्न थालेपछि बजार क्षेत्रमा छुट्टै आकर्षण थपिएको देखिन्छ ।
स्थानीयका अनुसार रोपलाइटले बजारको वातावरण रमाइलो बनाउनुका साथै रातिको समयमा आवतजावत गर्न पनि सहज भएको छ । विशेषगरी चाडपर्व तथा विभिन्न कार्यक्रमका बेला यी बत्तीहरूले बजार क्षेत्रलाई अझ आकर्षक बनाउने गरेका छन् ।

यद्यपि, केही स्थानमा जडान गरिएका रोपलाइट बिग्रिएर नबल्ने अवस्थामा पुगेका छन् । वर्षाको पानी, विद्युत भोल्टेजको असन्तुलन लगायतका कारण बत्तीहरू बिग्रिने गरेको बताइन्छ । बिग्रिएका रोपलाइटको समयमै मर्मत तथा व्यवस्थापनमा वडा कार्यालय र सम्बन्धित टोल विकास संस्थाहरूको ध्यान जान आवश्यक देखिएको छ ।



